नियम २१च
दर्ता किताब नाम दर्ता गराउने
(१) कुनै विदेशी नागरिक चिकित्सकले निश्चित अवधिको लागि नेपालभित्र कुनै अस्पताल वा मेडिकल कलेजमा चिकित्सा व्यवसाय गर्नको लागि काउन्सिलले तोके बमोजिमको ढाँचामा दर्ता किताबमा नाम दर्ता गराउन दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा विदेशी नागरिक चिकित्सकले राहदानी र प्रवेशाज्ञा तथा राहदानी र प्रवेशाज्ञा आवश्यक नपर्ने मुलुकको विदेशी नागरिक चिकित्सक भए निजको परिचय जनिने गरी सरकारी निकायबाट जारी भएको परिचयपत्रको काउन्सिलको सदस्य वा स्थायी दर्तावाला चिकित्सकमध्ये काउन्सिलले तोकेको चिकित्सकले प्रमाणित गरिदिएको प्रतिलिपि दरखास्तसाथ संलग्न गर्नु पर्नेछ ।
(३) विदेशी नागरिक चिकित्सकले निज कार्यरत रहेको देशको मेडिकल वा डेन्टल काउन्सिल वा सो सरहका व्यवसायिक परिषद्बाट प्राप्त गरेको असल चिकित्सक आचरणको प्रमाणपत्र र निजले जुन अस्पताल वा मेडिकल कलेजमा काम गर्न चाहेको हो सो अस्पताल वा मेडिकल कलेजको प्रमुख र नेपाल सरकारले निजले सो अस्पताल वा मेडिकल कलेजमा काम गर्नु पर्ने कारण, अवधि आदि खुलाई निजको नाम दर्ताको लागि गरिदिएको सिफारिसपत्रको सक्कल र काउन्सिलको सदस्य वा स्थायी दर्तावाला चिकित्सकमध्ये काउन्सिलले तोकेको चिकित्सकले प्रमाणित गरिदिएको सो सिफारिसपत्रको प्रतिलिपि समेत संलग्न गर्नु पर्नेछ ।
तर विदेशी नागरिक चिकित्सकलाई चिकित्सा व्यवसायमा संलग्न गराउन नेपाल सरकारसँग लिखित सम्झौता गरेका वा नेपाल सरकारबाट सहमति प्राप्त गरेका अस्पताल वा मेडिकल कलेजको हकमा त्यस्तो सम्झौता वा त्यस्तो सम्झौताको म्यादसम्म वा सहमति प्राप्त गरेको अवधिका लागि नेपाल सरकारको छुट्टै सिफारिसपत्र पेश गर्नु पर्ने छैन ।
(४) विदेशी नागरिक चिकित्सकको नाम दर्ता बढीमा एक वर्षको लागि मात्र गरिनेछ । तर काउन्सिलले आवश्यक देखेमा एकपटकमा बढीमा एक वर्ष ननाघ्ने गरी दर्ता नवीकरण गरिदिन सक्नेछ ।
(५) विदेशी नागरिक चिकित्सकको नाम दर्ता अनुसूची–८ मा तोकिए बमोजिमको दर्ता किताबमा गरिनेछ ।
(६) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि दर्तावाला विदेशी नागरिक चिकित्सक कार्यरत रहेको अस्पताल वा मेडिकल कलेजमा निजको सेवा अवधि समाप्त भएमा वा निजले उक्त अस्पताल वा मेडिकल कलेजमा काम गर्न छाडेमा निजको नाम दर्ता स्वतः खारेज भएको मानिनेछ ।
(७) विदेशी नागरिक चिकित्सकको नाम दर्ता तथा दर्ता नवीकरण दस्तुर अनुसूची–९ मा तोकिए बमोजिम हुनेछ ।
(८) यो नियमावली प्रारम्भ हुनु अगाडि विदेशी नागरिक चिकित्सकको नाम दर्ता भएको रहेछ भने स्वतः यो नियमावली बमोजिम नाम दर्ता भएको मानिनेछ ।
(९) विदेशी नागरिक चिकित्सकको नाम दर्ता सम्बन्धी अन्य व्यवस्था काउन्सिलले तोके बमोजिम हुनेछ ।